यूरोपमा कोभिडको नयाँ लहर आउन सक्ने

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



दि हेग, ५ असोज । यूरोपियन मेडिसिन एजेन्सीले यूरोपमा कोभिड-१९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । एजेन्सीले कोभिड-१९ को महामारी पूर्ण रुपमा टरेको नभई केही कम मात्र भएको भन्दै यूरोपमा अर्को लहर आउन सक्नेबारे सचेत गराएको हो ।

मंगलबार यूरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले यूरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको भए पनि यसको प्रकोप नघटेको बताएका हुन् । उनले भने, ‘यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । यूरोपियन देशहरुले आगामी दिनमा यो महामारीको अर्को लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरुको तयारीमा लाग्नुपर्छ ।’

उनले यूरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताए । विगत दुई वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकोले अब पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने उनको भनाइ थियो ।

उनले पहिलेका वर्षहरुका तुलनामा पछिल्लो समयमा विकासित भएका कोभिडका नयाँ प्रजातिहरुको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुनसक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेका हुन् ।