अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई घरमै कोभिड खोप

-



     सफल आवाज    
     असाेज ८ गते २०७९ मा प्रकाशित



तनहुँ ८ असोज । म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ बर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिड बिरुद्वको खोप लगाउन पाउँदा खुशीले गद्गद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पायौँ भने।

गाँउपालिकाद्धारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा पुगेर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देबासी खुशी भएका हुन् । सारुले जस्तै २८ बर्षीय कृष्णबहादुर थापा, सोही ठाँउ वस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ बर्षीय नारायणबहादुर हुन्चिङ्गलगायतको घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि उनीहरुले राहत महसुस गरेका छन् ।

स्पाईनल ईन्जुरीका कारण पूर्णरुपमा शारिरिक अपाङ्ग भई ओछ्यानमा रहेका २९ वर्षीय नारायणबहादुर हुच्चिङ्गले कोभिड खोप र स्वास्थ्य सेवा पाँउदा खुशी हुँदै समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई यसैगरी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

अपाङ्गताहरु वडा र पालिकामा आउन नसक्ने र घुम्ति शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले निजहरुको घर घरमा नै गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

एकिकृत घुम्ती सेवामार्फत घर–घर र टोल–टोलमा पुगेर सेवा दिदाँ म्याग्देबासीमा खुशी छाएको उनले बताए। चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हँदा कोभिड १९ विरुद्ध बयस्क फाईजर खोप दुई सय सरसठ्ठी जनाले लगाएकामा सत्र जनाले पहिलो मात्रा, अठ्ठार जनाले दोश्रो मात्रा र दुई सय ३२ जनाले तेश्रो(बुष्टर) मात्रा खोप लगाएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए।

वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिहीसमेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भैसकेको छ । उक्त शिविर असोज २ देखि २०७९ असोज ३१ गते सम्म चल्ने गाउँपालिका कार्यालयले जनाएको छ ।