डेङ्गुबाट ३६ जनाकाे मृत्यु, सतर्कता अपनाउन अपिल

-



     सफल आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ असोज । डेङ्गु सङ्क्रमण देशभर फैलिएको छ । हालै मुस्ताङमा पनि एक जनामा डेङ्गु सङ्क्रमण भेटिएको छ । यो सँगै डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा पुगेको पुष्टि भएको हो । सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म देशभरका २७ हजार ५ सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमित २१ हजार ५ सय ८९ जना छन् । प्रदेश एकमा ८ सय १५, मधेस प्रदेशमा ४ सय ५, गण्डकीमा ६ सय ५३, लुम्बिनीमा ३ हजार ५०, कर्णालीमा २ सय ३६ र सुदूरपश्चिममा ८ सय २१ जना सङ्क्रमित रहेका सरकारी तथ्याङ्क छ ।  

इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका अनुसार डेङ्गु सङ्क्रमणबाट हालसम्म ३६ जनाको मृत्यु भइसकेको छ । दीर्घ र अन्य रोग भएकालाई डेङ्गु भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टरहरुले सुझाव दिएका छन् ।

डेङ्गुबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु रहेकोले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाहुला भएका कपडा लगाउन र एक हप्ताभन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न पनि डाक्टरहरुले सुझाव दिएका छन् ।

डेङ्गु फैलिएपछि अहिले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको छ । कार्तिक मसान्तसम्म नै जोखिम रहने भएकाले यो अभियान निरन्तर चलाउनुपर्ने र पालिका तहमा पनि त्यसैअनुसारका काम गर्न इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निर्देशन दिइसकेको छ ।