बीवाइडी एटो थ्री नेपालमा शनिबार सार्वजनिक गरिने

-



     सफल आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ असोज । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एटो थ्री गाडी आगामी असोज २९ गते शनिबार सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो नयाँ प्रिमियम एसयूभीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

स्पेसिफिकेशनका हिसाबले बीवाइडी एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।

अहिलेसम्म नेपालमा उपलब्ध बीवाइडीको कारमध्ये सबैभन्दा शक्तिशाली मोटर रहेको एटो थ्री ले एक पटकको फुलचार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सलरेसन पनि उत्कृष्ट रहेको कम्पनीको दावी छ । गाडीले शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति ७.३ सेकेन्डमै भेट्टाउने कम्पनीले जनाएको छ ।

बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा तयार भएको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइनमा ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन यसको सबैभन्दा सबल पक्ष हो । यसबाहेक यसमा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फर्मेशन डिस्प्ले, ७ ओटा एयरब्याग उपलब्ध छन् । यो कारलाई अष्ट्रेलियन एनक्यापले ५ स्टार सेफ्टी रेटिङ प्रदान गरेको छ ।