नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : ८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



पोखरा, २ कात्तिक । एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

आर्र्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् ।

पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते । पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले काँस्य पदक जिते । निर्धारित दुरी कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरे ।

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ । प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।प्रतियोगितामा बागमतीले रजतमा चित्त बुझाउनु प¥यो ।

नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले काँस्य पदक प्राप्त गरे । यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए ।

पुरुषतर्फ पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपीएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए ।

महिला बास्केटबलको काँस्य गण्डकीलाई

तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा काँस्य पदक हात पारेको हो ।

प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो । यसै गरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो ।

गण्डकी प्रदेशलाई काँस्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अंक जोडेकी थिइन् । मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो ।
प्रतियोगिता अन्र्तगत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन् ।

ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन् । उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।

एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते । पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे ।

४ सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

४ सय मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् । थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।

आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते ।

टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो ।

सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो । यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।