अफगानिस्तान टी२० विश्वकपबाट बाहिरियो

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । श्रीलंकासँग पराजित भएको अफगानिस्तान आइसीसी टि२० विश्वकपबाट बाहिरिएको छ । आज भएको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । जारी विश्वकपमा सुपर १२ को आफ्नो ४ खेलमा २ औटामा पराजय र २ ओटामा नतिजाविहीन भएपछि २ अंक जोडेको अफगानिस्तान प्रतियोगिताबाट औपचारिक रुपमा बाहिएको हो ।

अंकतालिकामा समूह १ को शीर्षस्थानमा न्यूजिल्याण्ड र दोस्रोमा अस्ट्रेलिया रहेको छ । दुवैको ५(५ अंक रहेको छ । न्यूजिल्याण्ड अहिले इङ्ल्याण्डसँग खेलिरहेको छ । ४ अंकसहित श्रीलंका तेस्रो तथा समान ३(३ अंक रहेका इङ्ल्याण्ड र आयरल्याण्ड क्रमश: चौथो र पाँचौं स्थानमा रहेका छन् ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा धनन्जय डि सिल्भाले सर्वाधिक ६६ रन जोडे । ओपनर पाथुम निसांकाले १०, कुशल मेन्डिसले २५, चरित असलांकाले १९ तथा भानुका राजापाक्षेले १८ रनको योगदान दिए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमानले २ तथा राशिद खानले २ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक २८ रन बनाए । यस्तै उस्मान घानीले २७ रनको योगदान दिए ।

बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगाले ३ तथा लाहिरु कुमाराले २ विकेट लिए । यसैगरी कासुन रजिता र धनन्जय डि सिल्भाले समान एक-एक विकेट हात पारे ।