सशस्त्र प्रहरी बल बेलबारी गोल्डकको फाइनलमा

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित



मोरङ, २२ कात्तिक । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुगेको छ ।

मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपिएफसँग सोमबार २–१ गोलअन्तरको हार ब्यहोरेपछि आयोजक उपाधि होडबाट बाहिरिएको हो । घरेलु मैदानमा आयोजकलाई रोक्दै साविक विजेता एपिएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ ।

घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपिएफले दुवै गोल मध्यान्तरपछि मात्रै गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । मध्यान्तरपछि आकर्षक प्रदर्शन गरेको एपिएफ अन्ततः आयोजकलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।

कप्तान टोप विष्ट र नवीन लामाले गरेको गोल एपिएफलाई जितका लागि पर्याप्त बन्यो । आशिम राईले फर्काएको सान्त्वना गोल आयोजकलाई फाइनलयात्रा तय गर्न अपुग भयो । खेलको ६५औँ मिनेटमा नवीन लामाले अर्को गोल थपेपछि एपिएफको जित निश्चित भएको हो । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज राजारानी र सहलेस सिराहाबीच प्रतिस्पर्धा हुने छ ।