टी२० विश्वकपको उपाधि यात्राबाट भारतको लज्जास्पद बहिर्गमन

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । आइसीसी टी२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारत १० विकेटले पराजित भएको छ । इंग्ल्यान्डले भारतले दिएको १६९ रनको विजय लक्ष्य १६ ओभरमा कुनै विकेट नगुमाई भेट्टाउँदै फाइनलमा प्रवेश गरेको हो । योसँगै भारतको टी२० विश्वकप यात्रा टुंगिएको छ । अब उपाधिको लागि आइतबार पाकिस्तान र इङ्ल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्सले ४७ बलमा ४ चौका र ७ छक्कासहित अविजित ८६ रन बनाए । यसैगरी कप्तान जस बटलरले ४९ बलमा ९ चौका र ३ छक्कासहित अविजित ८० रनको योगदान दिए । यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन तथा विराट कोहलीले ५० रन बनाए । अरु ब्याट्सम्यान खासै चल्न सकेनन् । बलिङतर्फ इंग्ल्यान्डका क्रिस जोर्डनले ३ तथा आदिल रशिद र क्रिस वोक्सले समान १-१ विकेट लिए ।