पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्दै नेपाल

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने भएको छ । आगामी सन् २०२७ मा हुने यू-१९ महिला टी२० विश्वकप नेपाल र बंगलादेशमा संयुक्त रुपमा आयोजना हुने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजक राष्ट्रको आधिकारिक नाम सार्वजनिक गरेको हो ।

आइसीसीको सूची अनुसार २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन् । यसैगरी २०२७ को यू-१९ महिला टि२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।

यसअघि नेपालले कुनैपनि विश्वकप आयोजना गरेको छैन । पूर्वाधारको कमी छँदाछँदै पनि आइसीसीले यू-१९ महिला विश्वकप आयोजना गर्न अनुमति दिनु नेपाली क्रिकेट तथा समग्र खेल क्षेत्रका लागि सकारात्मक कुरा हो । विश्वकप आयोजना गर्न हामीले ५ वटा मैदानको नाम दिएका र तीमध्ये दुईवटा मैदानमा खेल हुने नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।