विश्वकप फुटबल प्रत्यक्ष प्रसारणकाे बाटो खुल्याे

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । कतारमा केही दिनपछि सुरु हुने फिफा विश्वकप फुटबल नेपालमा शुल्क लिएर प्रत्यक्ष प्रसारण गर्न पाइने भएको छ । आज बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन आदेश खारेज गरिदिएको हो ।

यो आदेशमा शुल्क लिएर विश्वकप प्रसारण नगर्ने उल्लेख भएकामा उक्त आदेशको खारेजीसँगै टेलिभिजन सेवा प्रदायकहरुले अतिरिक्त शुल्क लिएर प्रसारण गर्न पाउने बाटो खुलेको हो ।

मिडिया हबले विश्वकप फुटबल प्रसारण अधिकार लिँदा भएको खर्च उठाउन प्रति टेलिभिजन ५ सय रुपैयाँ अतिरिक्त शुल्क लिने बताएसँगै निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले रिट दायर गरेका थिए । सोही रिटमा निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गत कात्तिक २२ गते विश्वकप प्रसारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशसँगै प्रत्यक्ष प्रसारणको तयारी रोकेको मिडिया हबले अब भने तयारीलाई तीव्रता दिने बताएको छ । यद्यपि विश्वकप हेर्नका लागि कति शुल्क तिर्नुपर्छ भन्ने यकिन भइसकेको छैन । केही दिनमा मिडिया हबले विश्वकपका लागि शुल्क तोक्ने आकलन गरिएको छ । पे च्यानलका खासै बानी नपरेका र सधैं निशुल्क विश्वकप हेरिरहेका नेपालीहरुमाझ अतिरिक्त शुल्क तिर्नुपर्ने कुराले भने केही चिन्ता थपेको देखिन्छ ।