
काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९४० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
५१२ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ४२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उक्त अवधिमा देशभरबाट ३८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ६३ मा झरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप लगाएकाको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।