‘हाम्रा डाक्टरको हातै सेलो’

-



     सफल आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । खप्तडछान्ना गाउँपालिका–५ का श्याम गिरी अहिले ७३ वर्षका भए । उनको दाँतले दुःख दिन थालेको १० वर्ष भइसक्यो । त्यस अवधिमा गिरीले उपचारका लागि धेरै नै संघर्ष गरे ।

दाँत दुखाई कम गर्न आयुर्वेद चिकित्सकदेखि डेन्टल चिकित्सकसम्म धेरै पटक धाए । तर, न उनको दुखाई कम भयो, न त दाँत निकाल्ने काम नै । औषधी खाएको बेला केही राहत महशुस भए पनि बाँकी समय उस्तै ।

गिरीलाई अब बाँच्नसम्मै दाँतले मुक्ति नदिने लागिरहेको थियो । ‘पटक पटक दाँत देखाउँदा औषधी मात्रै दिए,’ उनले भने, ‘मेडिकलमा पैसा मात्रै सकियो । एकपटक दाँत निकाल्न खोजेको दुखेर सहनै सकिनँ र निस्केर आए ।’

दाँतकै उपचारमा गिरीले छान्नाभित्रका बैद्यहरूको परामर्श र जडिबुटी पनि धेरै प्रयोग गरे । उनले भने, ‘बैद्यहरूको परामर्श पनि धेरै लिए । एकपटक काफलको बोक्राले दाँत छोपेर राखेँ, त्यसले राहत दियो । केही वर्ष त्यही प्रयोग गरेँ । पछि भने काम गरेन ।’
यसपटक भने गिरी दन्त शिविरको पखाईमा थिए । निर्वाचनपछि हुने शिविरबारे समाचार सुनेका गिरीले दोस्रो दिन नै पहिलो नम्बर मै नाम लेखाए । चिकित्सकको टिमले उनका दर्जनबढी कुहिएका दाँत निकाल्यो । गिरीले भने दाँत निकालेको पत्तै पाएनन् । एकछिन त झिकेको आफ्नो भएकोमा विश्वासै गरेनन् ।

मुखभित्र औँला राख्दै ऐना हेरेपछि त दंग परे । ‘दाँत हल्लाउँदै हुनुहुन्छ जस्तो लागेको थियो । निकालिसक्नु भएछ,’ उनले भने, ‘हाम्रा डाक्टरको कति सेलो (नदुखाउने) हात, थाहै नपाइने ।’

दाँत झिकेपछि गिरी खुसी साट्न थाले । ‘१० वर्षसम्म कता–कता भौतारिए । अहिले गाउँमै, गाउँले डाक्टर भगवान भएर आउनुभयो । अब जति बाँचिन्छ, आनन्दले बाँचिन्छ ।’ उनले भने ।

खप्तडछान्ना गाउँपालिका–४ का चित्रराज जोशीलाई पनि दाँतको समस्याले वर्षौंदेखि सताएको थियो । दाँतमा किरा लागेको भन्दै भटमास, मकै, चनालगायतका साह्रो चिज (खानेकुरा) नखाएको त उनले धेरै भइसक्यो । घरमा उनलाई जहिल्यै नरम खानेकुराको मात्रै पाक्थ्यो ।

जोशीका दुई वटा दाँतले चपाउनै नसकेर धेरै पटक भोको राख्यो । दाँत दुखेरै अनुहारै सुनिन्थ्यो । ‘अनुहार सुनिएर कैयौँ पटक घरभन्दा बाहिर जान सकिनँ ।’ उनले भने, ‘दुख्ने दाँत उखेल्ने मान्छे नै पाएको थिएन । अब बल्ल आराम हुने भयो ।’

शिविरमा जोशी दम्पती नै कुहिएका दाँत निकाल्न आएका थिए । ‘दुख्ने तीन दाँत निकालियो, अहिले स्वास्थ्यलाई आराम छ,’ चित्रराज पत्नी विष्नादेवीले भनिन्, ‘मौकाले पालिकामै शिविर बस्यो । हामीलाई पनि सेवा लिन सहज भयो । आफ्नै ठाउँका डाक्टर आए । सेलो हात रहेछ, कुहिएका दाँत निकाली माग्यौँ, अब अर्कोपटक निकालेका दाँतमा नयाँ दाँत हालीदिने भन्नुभएको छ ।’

खप्तडछान्ना गाउँपालिका–५ का ७० वर्षीय डबल सार्कीका ४ वटा दाँत कुहिएका थिए । टाढा जान नसकेर दाँत फाल्न नसकेका उनले शिविरमा भने मौका छोपे । ‘दाँत कुहिएको धेरै भइसक्यो, फाल्नै पाएको थिइनँ,’ उनले भने, ‘पालिकामै शिविर आएको भन्ने सुने । टाढा जान सक्ने आर्थिक अवस्था थिएन । गाउँमै सेवा लिन पाइयो । राम्रै भयो ।’

सधैँ दुःख दिने दाँत झिकेपछि खुसी हुँदै सार्कीले भने, ‘अब त म बूढो पनि सन्तोषले बाँच्ने भएँ ।’ शिविरमा आएकाहरू गलल हाँसे । खुसी हुँदै सार्की बाटो लागे ।

बिरामीले हात सेलो भनेका गाउँले डाक्टर हुन् कुम्भराज जोशी । खप्तडछान्ना–५ पिठातोलाका जोशी अहिले कान्ति बाल अस्पतालमा विशेषज्ञ बाल दन्त चिकित्सकको रूपमा कार्यरत छन् । उनी जिल्लामा प्राय वर्षमा एक पटक पुगिरहन्छन् । ‘गाउँ नआएको पनि धेरै भइसक्यो,’ डा. जोशीले भने, ‘चुनावको बेला मताधिकार पनि प्रयोग गरौँ । आफूले जाने अनुसारको सहयोग पनि गरौँ भनेर शिविर ल्याएर आएँ ।’

आफ्नै ठाउँ छान्नाबासी बुवाआमा दाजुभाई, दिदीबहिनीको सेवा गर्न पाउनु निकै खुसीको कुरा भएको उनले बताए । ‘टाढा जाने फुर्सद हुँदैन । बझाङमा आफ्नो क्लिनिकबाट भए पनि वर्षमा एक पटक निःशुल्क शिविर आयोजना गर्छौँ । यो पटक त छान्नामै दोस्रो शिविर ल्याउनुपर्ने छ ।’

डा. जोशीका अनुसार गत वर्ष जिल्ला सदरमुकाम चैनपुरमा ल्याएको शिविरबाट धेरै जना लाभान्वित भएका थिए । तर, छोटो समयमै सडेको दाँत झिकेर नयाँ दाँत राख्दा दुखाई भएको भन्दै धेरैले टिकाएनन् । ‘गत वर्षको जस्तो नहोस् भनेर यो पटक अगाडि नै सर्वेक्षण गरेका हौँ,’ जोशीले भने, ‘पछि नयाँ दाँत राख्नुपरेमा पनि सजिलो होस् भनेर यसै शिविरमा सडेका दाँत झिकेका हौँ । २ महीनासम्म घाउ पनि ठीक हुन्छ । त्यसपछिको शिविरमा नयाँ दाँत राख्नुपर्ने, मुखको उपचारलगायतका काम हुनेछन् ।’

खप्तडछान्ना गाउँपालिकाको खप्तडछान्ना स्वास्थ्य चौकीमा आयोजना गरिएको दुई दिने सर्वेक्षणमुलक दन्त शिविरमा ३२० जना बिरामीले सेवा लिए । त्यसमा करिब ३० प्रतिशत बिरामीमा पुरै दाँत सडेको डा. जोशीले बताए ।

टिचिङ कान्ति डेन्टल हस्पिटलले आयोजना गरेको शिविरमा ५ वर्षदेखि ५० वर्ष उमेर समूहका बिरामीको १० दाँत सडेका देखिए भने कतिपय बिरामीको २३÷२४ वर्षको उमेरमै ८÷१० दाँतबाहेक सबै सडेको उनको सर्वेक्षणले देखाएको छ ।

शिविरमा जोशीसहित जिल्ला अस्पताल बझाङका डेन्टल सर्जन डा. एकेन्द्र खड्का, खप्तडछान्ना स्वास्थ्य चौकीका सिनियर स्वास्थ्य असिस्टेन्ट अर्जुनजंग थापा, दन्त चिकित्सा सहायक नन्दराज जोशीलगायतको टिमले सर्वेक्षणसहित मुख परीक्षण गरेको थियो । दुई दिनमा बिरामीका करिब ६÷७ सय सडेका दाँत निकालेको उनले बताए ।