कोरोनाका सक्रिय सङ्क्रमित १९ पुगे

-



     सफल आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ५७४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२७५ जनाको पीसीआर परीक्षण गरिएकामा ६ जनामा तथा २९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा देशभरबाट ३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ३३ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त भएको छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।