
पाेखरा, २० पुस । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट जित निकाल्दै सङ्कटाले फाइनल यात्रा तय गरेको हो । सङ्कटाका लागि स्टेफन विनोङ र मेसुकेले दुई÷दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका स्टेफनले ६१औँ मिनेटमा दोस्रो गोल गरे ।
मेसुकेले ४३ औँ र ८६औँ मिनेटमा गोल गरे । सङ्कटाका दुवै फरवार्डर क्यामरुनी हुन् । ७४औँ मिनेटमा हरी कार्कीको सान्त्वना गोलसँगै एपीएफले सङ्कटासँगको अग्रता घटाए पनि खेलमा फर्किन भने सकेन । विपक्षीलाई खेल अवधिभर दबाबमा राख्न सफल सङ्कटाका स्टेफन म्यान अफ् दि म्याच घोषित भए ।
सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको सङ्कटाले विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनबाट फाइनल पुग्न सफल भयो । सङ्कटा क्लबका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरे । उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए । प्रशिक्षक खड्गीका अनुसार सङ्कटाका लागि यस प्रतियोगिता वर्षको पहिलो हो ।
घरेलु लिग फुटबलपछि उक्त टिमले कुनै पनि प्रतियोगिता खेल्न पाएको थिए । एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले रक्षापङ्क्ति कमजोर हुँदा टिमले हार व्यहोर्नुपरेको स्वीकार गरे । उनले गोलको अवसर पाए पनि प्राविधिक पक्ष नमिल्दा टिम सफल हुन नसकेको बताए ।
विपक्षी टिममा रहेका विदेशी खेलाडीलाई गोल गर्नबाट आफ्ना खेलाडीले रोक्न नसकेको उनले उल्लेख गरे । सङ्कटाले अब बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनलका लागि बिहीबार ब्वाइज युनाइटेड र भूटानी युथ स्पोर्ट्स क्लबबीच खेल हुनेछ ।
फाइनल खेल शनिबार हुने प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगितका विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख पुरस्कार पाउनेछन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




