आहा ! रारा पोखरा गोल्डकपकाे फाइनलमा भुटनिज युथ र सङ्कटा क्लब भिड्ने

-



     सफल आवाज    
     पौष २२ गते २०७९ मा प्रकाशित



पाेखरा, २२ पुस । अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार पुस २३ गते हुने फाइनलमा भुटनिज युथ र सङ्कटा क्लब भिड्ने भएका छन् ।

पोखरा रङ्गशालामा बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १–० गोलले हराउँदै बिवाइएससीले फाइनलमा सङ्कटा क्लबसँगको भेट पक्का गरेको हो । सङ्कटा क्लब बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै फाइनल पुगेकाे हाे ।

पहिलो हाफको अतिरिक्त समयमा बिवाइएससीका रोजिन प्रजापतिले गरेको एकमात्र गोल टोलीलाई फाइनलमा पु¥याउन पर्याप्त रह्यो । प्रवीन बस्नेतको क्रस पासलाई सदुपयोग गरी रोजिनले हेडरमार्फत गोल गरे। खेलको ८४औँ मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड (रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाइज दश खेलाडीमा सीमित भएको थियो ।

खेलको निर्धारित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए । खेलका निर्णायक गोलकर्ता प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए ।

प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।