खेलकुदले व्यक्तिगत स्वास्थ्य र समाजलाई सकारात्मक ऊर्जा दिन्छ: मेयर आचार्य

-



     सफल आवाज    
     पौष २९ गते २०७९ मा प्रकाशित



पोखरा, २९ पुस । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा १५ मा जारी बृहत् खेलकुद महोत्सवको उद्घाटन गरेका छन् । बिहीबार वडावासीहरूको व्यापक सहभागिताका बिच मेयर आचार्यले वडा स्तरीय बृहत खेलकुद महोत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले अन्य कुरामा मानिसहरूका मतभेद रहे पनि, विचार नमिले पनि खेलकुदले सबैलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए । उनले आज सबै जना एउटै झन्डा मुनि उभिएको भन्दै यसले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरे ।

मेयर आचार्यले सबै उमेर समूहका मानिसहरुबिच खेलकुदको कार्यक्रम राखेर नमुना कार्य गरेको र सुरुवातको दिनदेखि नै पोखराका ३३ वटै वडा मध्ये वडा नं १५ ले पृथक ढंगले कामहरू अगाडि बढाएको भन्दै वडाध्यक्ष तोरण बहादुर बानियाँलाई धन्यवाद दिए ।

खेलकुद महोत्सवले वडामा रहेका आमा समूह, टोल विकास संस्था र युवा क्लबहरू बिचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गर्नेमा अध्यक्ष बानियाँले आशा व्यक्त गरे । उनले वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने बताए । बानियाँले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले खेलकुद कार्यक्रमको आयोजना गरिएको बताए ।

यस्तै वडा सदस्य तथा कार्यक्रम संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य सँगसँगै खेलकुद कार्यक्रमले खेलाडीहरू उत्पादन गर्ने र यहाँबाट उत्पादन भएका खेलाडीहरू महानगर, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगुन् भन्ने आफूहरूको लक्ष रहेको बताए ।

उद्घाटन समारोहमा खेलाडी, समाजसेवी, पूर्व जनप्रतिनिधि, प्राध्यापक लगायत वडाका १५ वटा आमा समुहको टोली ब्यानर सहित उपस्थित भएका थिए भने छोटो सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।