म्याच फिक्सिङको आरोपमा २ क्रिकेटर पक्राऊ

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित


काठमाडौं, ९ माघ । क्रिकेटमा म्याच फिक्सिङ गरेको आरोपमा २ क्रिकेटरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा मैदानमै स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल अन्सारी रहेका छन् ।

सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले यी दुई क्रिकेटरलाई पक्राऊ गरेको हो । सीआईबीले अन्सारीलाई राजविराजबाट र आलमलाई विराटनगरबाट पक्राउ गरेको र दुवैलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आदिलले गत मार्चमा त्रिविमा पपुवान्युगिनीसँगको टी-ट्वान्टी खेलमा डेब्यु गरेका थिए भने पूर्व क्रिकेटर महबुब आलमले २००८ को विश्व क्रिकेट लिग डिभिजन ५ अन्तरर्गत मोजाम्बिकविरुद्ध १० विकेट लिँदै दुर्लभ कीर्तिमान बनाउन सफल भएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोले सट्टेबाजी र मिलेमतोको आशंकामा अनुसन्धान थालेकामा झण्डै १ महिनाको अनुसन्धानपछि ब्युरोले लिगमा स्पट फिक्सिङ भएको प्रमाण फेला पारेको जनाएको छ । फिक्सिङमा १० भन्दा धेरैको संलग्नता पुष्टि गर्ने आधार भेटिएका छन् भने त्यसमध्ये केही नेपाली खेलाडीसमेत परेका सीआईबीले जनाएको छ ।

भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टससँगको साझेदारीमा नेपाल क्रिकेट संघ क्यानले पहिलो संस्करणको टी–२० लिग गत पुस ८ देखि आयोजना गरेको थियो भने आयोजना साझेदार सेभेन थ्री पनि फिक्सिङमा संलग्न भएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५१ उपदफा तीनमा नेपालमा वा विदेशी मुलुकमा मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । साथै फिक्सिङमा लेनदेन भएको रकम सबै जफत हुने कानुनी व्यवस्था छ ।