टाइगर कप भलिबल : आर्मी र एपिएफ विजयी

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित


पोखरा, ९ माघ । तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’मा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले पुरुषतर्फ खेल जितेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा विभागिय टोलीहरुको वर्चश्व रहेको हो । नेपाल आर्मीले विदेशी पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–० को सोझो सेटमा जित निकाल्दा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पाखा लगाएको हो ।

जारी प्रतियोगितामा नेपाल आर्मीले सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंका विरुद्ध पहिलो सेट २५–२० दोश्रो सेट २५–१६ र तेश्रो सेट २५–१० ले जित्यो । जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित समेत हो । उसले ३ अंक प्राप्त गरेको छ । उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र बेष्ट स्पाइकर धन बहादुर भट्ट घोषित हुँदै नगद तथा गिफ्ट भौचर प्राप्त गरे ।

त्यसै गरी पुरुषतर्फ नै आज भएको अर्को एक खेलमा एपिएफले पुलिस विरुद्ध जित निकाल्दै ३ अंक प्राप्त गरेको छ । जारी लिगमा एपिएफको यो दोश्रो जित हो । एपिएफले दुई खेल लगातार जित्दै ६ अंक बटुलेको छ । पुलिस विरुद्धको खेलमा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपिएफ दोश्रो सेटमा भने २५–२१ ले पुलिसलाई सुम्पिन पुग्यो । तेश्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले जित्दै एपिएफले खेल आफ्नो पक्षमा पार्यो । उक्त खेलमा बेष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा घोषित भए ।

यसै गरी जारी प्रतियोगितामा महिलातर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २५–११ ले जितेको एपिएफले दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१६ ले जित्दै विजयी सुरुवात गरेको छ । उक्त खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भएकी छन् ।

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।