दोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


लमजुङ, ११ माघ । दोर्दी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छी शाखाको आयोजनामा वडा नं १ भारतेमा आयोजित एक दिने सो शिविरमा एक सय २६ किसान लाभान्वित भएका छन् । सो शिविरमा दुई हजार १३ पशुपन्छीको उपचार तथा औषधि वितरण भएको छ ।

पचास वटा कुकुरमा रेविज विरुद्धको खोप लगाउनुका साथै तीन सय ४० गाईभैँसी र आठ सय ५० वटा भेँडाबाख्राका लागि आन्तरिक र बाह्य परजीविका कारण लाग्ने रोग विरुद्धका औषधि वितरण गरिएको पशुपक्षी शाखा प्रमुख शङ्कर पन्थीले बताए । त्यसैगरी सात सय ७३ वटा कुखुराका औषधि वितरण गरिएको छ ।

भिटामिन तथा सिजनअनुसार लाग्ने रोग नियन्त्रणको लागि औषधि वितरण भएको हो । शाखा प्रमुख पन्थीले भने, “हामीले तीन ठाउँमा यस्ता कार्यक्रमका लागि साढे एक लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ, यही मात्रै करिब एक लाख रुपैयाँ बराबरको औषधि वितरण भएको छ ।”

केही दिन अघि पालिकाको वडा नं ९ हिलेटक्सारमा यस्तै शिविर आयोजना गरिएको थियो । अब आगामी १८ गते वडा नंं ८ बन्सारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने पालिकाको पशुपन्छी शाखाले जनाएको छ । पशु स्वास्थ्य रेविज रोग नियन्त्रण र पशुपन्छीको स्वास्थ्य भई उत्पादन बढाउने उद्देश्यका साथ यस शिविर सञ्चालन गरिएको शाखाका प्रमुख पन्थीको भनाइ छ ।

शिविरमा किसानलाई पशुमा लाग्ने रोगका बारेमा जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायका बारेमा छलफल तथा परामर्श प्रदान गरेको थियो । शिविरको उद्घाटन गर्दै वडा नं १ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले वडाभित्रका किसानलाई पशुपन्छीमा लाग्ने रोग, उपचारलगायत बारेमा जानकारी हुनुका साथै उपचार पाएपछि उनीहरू लाभान्वित भएको बताए।