टाइगर कप भलिबल: पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफलाई उपाधि

-



     सफल आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित



पोखरा, १५ माघ । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पिए पनि पछिल्ला दोश्रो र तेश्रो सेट क्रमशः २५–१८ र २५–१९ ले जित्यो । तर चौथो सेटमा गण्डकीले आफूले पाएको अग्रता जोगाउन नसक्दा २८–२६ ले एपिएफलाई बुझायो । अन्तिम सेटमा गण्डकीले एपिएफलाई खेलमा फर्किने कुनै मौका नै दिएन । सुरुवातबाटै अग्रता लिएको गण्डकीले पाँचौ सेट १५–८ ले जित्दै उपाधि हात पार्यो । योसँगै गण्डकीले दोश्रो पटक उपाधि उचालेको हो । दुई वर्षअघि सम्पन्न प्रथम टाइगर कपमा पनि गण्डकी प्रदेशले नै उपाधि जितेको थियो ।

यता महिलातर्फको फाइनलमा साविक विजेता एपिएफले आफ्नो लयमा कायम रहँदै दोश्रो पटक लगातार टाइगरकप भलिबलको उपाधि जितेको छ । एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–२२, २०–२५, २५–८ र २५–२२ ले जित्दै उपाधि जितेको हो ।

उपाधिसँगै घरेलु टोली गण्डकी र एपिएफले समान नगद ५–५ लाख नगद हात पारेका छन् । यस्तै उपविजेता रहेको पुरुषतर्फको एपिएफ र महिलातर्फ नेपाल आर्मीले समान २ लाख ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुषतर्फको तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले जित हासिल गर्यो । साविक विजेता समेत रहेको नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त गरेको हो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले पछिल्ला तिन सेट २५–१८, २५–२१ र २५–२० ले जित्दै नगद १ लाख २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल आर्मी चौथो हुँदै नगद ६५ हजार प्राप्त गरेको छ ।

यसैगरी महिलातर्फ होङवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले तेश्रो स्थान प्राप्त गर्यो । न्यू डायमण्डले नगद १ लाख २५ हजार प्राप्त गर्दा प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको गण्डकीले नगद ६५ हजार हात पार्यो ।

प्रतियोगितामा गण्डकी प्रदेशका रवि केसी र महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट घोषित हुदै जनही २५–२५ हजारका साथमा ट्रफी प्राप्त गरे ।

सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बेष्ट स्पाइकरमा एपिएफका टेकराज अवस्थी, बेष्ट ब्लकरमा गण्डकीको टिममा समावेश भएका भारतीय खेलाडी नितिन, बेष्ट सेटरमा गण्डकीका विवश आले, बेष्ट स्पाइकरमा एपिएफका विनोद चन्द र बेष्ट सर्भरमा गण्डकीका घनश्याम चौधरी घोषित भए ।

त्यस्तै महिलातर्फ बेष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, बेष्ट ब्लकरमा आर्मीकी संगम महतो, बेष्ट सेटरमा न्यू डायमण्डकी प्रगती नाथ, बेष्ट लिबेरोमा आर्मीकी सरस्वती जैशी घोषित हुँदा बेष्ट सर्भरको उपाधि भने गण्डकीकी अरुणा शाहीले प्राप्त गरिन् । पुरुष र महिलातर्फ उत्कृष्ट घोषित हुने खेलाडीहरुले जनही नगद १०–१० हजार बराबरको एक्स–टेप कम्पनीको जुत्ताका साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसदद्वय लिला बहादुर थापा, प्रकाश बराल लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि प्रतियोगिताको शुभारम्भ गर्दै सदस्य सचिव घिसिङले पोखरा रंगशालालाई ट्रेनिङ भेन्यूको रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिएका थिए । उनले भने, “पोखरालाई अन्तर्राष्ट्रिय खेल भेन्यूको रुपमा स्थापित गर्ने की ट्रेनिङ भेन्यू ? यसमा पोखरेलीहरुको सुझावलाई राखेपले मनन गर्नेछ र त्यसरी नै अघि बढ्नेछ ।”

सो अवसरमा सदस्य सचिव घिसिङले पूर्व महिला राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई भलिबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, संस्थाका सचिव डिवी नेपाली लगायतले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ह्यारी की प्यारीका नायक तथा हास्य कलाकार जितु नेपाल (मुन्द्रे), नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह, गायक सपन कुमार राईले आफ्नो प्रस्तुति दिएका थिए ।