कोरोनाका १२ सङ्क्रमित थपिए, ५ जना डिस्चार्ज

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट ८५० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१५७ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ६३९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा देशभरबाट ५ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ मा झरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ । हालैमात्र मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन सबैलाई आग्रह पनि गरेको छ ।