बिटी कपमा आज बुधबारदेखि प्रि-क्वाटरका खेल हुँदै

-



     सफल आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित



पोखरा, २५ माघ । पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज बुधबारदेखि प्रि-क्वार्टर चरणका खेलहरु हुँदैछन् ।

यसअघि हिजो मंगलबार पहिलो चरणका खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा भएको पहिलो खेलमा गार्डेन एफसीले दिव्यज्योती क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्याे । गार्डेनको जितमा सागर गुरुङ र प्रनिश गुरुङले समान १-१ गोलको योगदान दिए । भने दिव्यज्योतीको लागि राजन थापाले सान्त्वना १ गोल फर्काए ।

यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा युडिटीसिएल एफसीलाई एनएमसिवाईले १–० गोल अन्तरले हरायो । एनएमसिवाईको जितमा सुजन गुरुङले निर्णायक १ गोल गरे । तेस्रो खेलमा सुनगाभा क्लबको अनुपस्थितिमा काउवेज ग्याङले वाकओभरमार्फत विजय हासिल गर्याे ।

चौथो खेलमा घाचोकक्लबलाई सागर एफसीले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । सागर एफसीको जितमा महेन्द्र गुरुङले निर्णायक गोल गरे ।

पाँचौ खेलमा नयाँगल्ली एफसीलाई लाँलीगुँरास क्लब धम्पुले ४–१ गोल अन्तरले सहजै जित निकाल्यो । धम्पुसको जीतमा साजन मगरले २ गोल र दिपेश क्षेत्री र समिर परियारले समान १-१ गोलको योगदाद दिए भने नयाँगल्लीको लागि निश्चल गुरुङले सान्त्वना १ गोल फर्काए ।

छैटौं खेलमा उद्धब एफसीले टुडिखेल एफसीलाई २–० गोल अन्तरले पाखा लगायो । उद्धबको जितमा सन्देश भुजेल र सबिन मगरले समान १-१ गोलको योगदान दिए । सातौं खेलमा हरिचोक युनाइटेड क्लबले पोखरा म्युजिकल हाउसलाई १–० गोल अन्तरले पराजित गर्याे ।

हरिचोक युनाइटेको जितमा छबिन्द्र गुरुङले निर्णायक गोल गरे । आज भएको अन्तिम खेलमा लामागाँउ एफसीले पिएन क्याम्पसमाथी ५–० गोल अन्तरले जित निकाल्यो ।