बाजुराले ३ वर्षपछि पायो एमडीजीपी डाक्टर

-



     सफल आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित



बाजुरा, २५ माघ । जिल्ला अस्पताल बाजुराले ३ वर्षपछि एमडीजीपी डाक्टर पाएको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीका अनुसार ३ वर्षअघि डा. दुर्गा महर्जन सरुवा भएपछि खाली रहेको ठाउँमा अहिले डा. प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका हुन् ।

एमडीजीपी चिकित्सक ल्याउन लामो प्रयास गरेपछि स्वास्थ्य मन्त्रालयले देवकोटालाई बाजुरा सरुवा गरेको अस्पतालका अध्यक्ष कार्कीले बताए । देवकोटाले कम्तीमा १ वर्ष बाजुरामा सेवा दिने बताइएको छ ।

उनी बाजुरा बस्दा केही सुविधा निक साइमन्स इन्स्टिच्युटले दिनेगरी व्यवस्था गरिएको छ । जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सक आएपछि अब भने सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।

कार्कीका अनुसार एमडीजीपी चिकित्सक नहुँदा सामान्य घाउको शल्यक्रिया गर्न पनि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो । अब भने सो बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।