पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफल बनाउन मञ्चद्वारा संघ, संस्थाका प्रतिनिधिहरुसंग छलफल

-



     सफल आवाज    
     फागुन १ गते २०७९ मा प्रकाशित



पोखरा, १ फागुन । नेपाल भूतपूर्व खेलाडी मञ्चले फागुन ६ गते पोखरामा आयोजना गर्न लागेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताका लागि विभिन्न संघ, संस्था र वडावासिहरुसंग छलफललाई जारि राखेको छ ।

छलफलको सिलसिलामा मञ्चले आज पोखरा विभिन्न प्रतिनिधिमूलक संस्थाका पदाधिकारीहरुसंग छलफल गरेको हाे। पोखरामा आयोजना गरिने १७औं संस्करणको यो प्रतियोगिता जेठाे प्रतियोगिता हो, मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले भने, हामी सबैको गौरवको प्रतियोगिता पोखरा र नेपालको भएकोले धेरैको ध्यान यतातिर केन्द्रित भएको बताए ।

यसपालिबाट हामीले अन्तराष्ट्रिय मान्यता पाएका छौं । म्याराथनको अन्तराष्ट्रिय संस्था एम्सले अन्तराष्ट्रिय मान्यता दिएको र पोखराको म्याराथन रुटलाई उत्कृष्ट भनेकोले यसको महत्व बढेको उनले बताए ।

खेल आफैंमा स्वास्थ्यका लागि पनि हो । जति खेल खेल्यो स्वास्थ्यको लागि फाईदा हुन्छ । गुरुङले भने, प्रतियोगितामा सहभागि हुनेले सहभागि बनौं, सहभागि नहुनेले रन फर फनको लागि दौडौं । आफ्ना बालबालिकालाई सहभागि बनाऔं र यसलाई सबैले उत्सवको रुपमा अपनत्व ग्रहण गरौं ।

प्रतियोगितामा देश विदेशका गरी हजारौं खेलाडीहरु सडकमा दौडिने छन् । पोखरा र नेपालको सान त्यो दिन अर्थात फागुन ६ गते पाेखरा र नेपालले विश्वभर सन्देश पुर्याउने उनले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष गुरुङले प्रतियोगिताबारे डिजिटन प्रस्तुति दिएका थिए भने कार्यक्रममा उपस्थित संघ संस्थाका प्रतिनिधिहरुले १ देखि वडा नं १७ सम्मको रुटमा खेलाडीको हौसला बढाउने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा उनीहरुले प्रतियोगितालाई गाउँबाट शहरसम्म जाेड्नुपर्ने, विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय छवि बनाएका व्यक्तित्वहरुको उपस्थिति गराउनु पर्ने, ट्राफिक समस्या नहुने गरी व्यवस्थापनमा व्यवसायीले सघाउनु पर्ने लगायतका सुझाव दिएका थिए ।

प्रतियोगिता शुरु भएपछि वडा नं १ देखि १७ सम्मका रुटहरुमा स्थानियले खेलाडीहरुको हौसलाको लागि तालि बजाउने, बाजागाजा घन्काउने, भजनकिर्तन गर्ने र भेषभुषामा सजिएर स्वागत गर्नेछन् भने रंगशालामा हिमाली सांस्कृतिक परिवारको संयोजनमा सांकृतिक कार्यक्रम हुनेछ ।

फागुन ६ गतेको म्याराथनका लागि पोखरा रंगशालामा उपस्थित हुने समय बिहान ६ बजे राखिएको छ । प्रमुख अतिथि गण्डकीका मुख्यमनत्री खगराज अधिकारीले उद्घाटन गरेपछि ७ बजे रंगशालाबाट दौड शुरु हुनेछ ।

प्रतियोगितामा ४२ किमि दौड, २१ किमि दौड, १० किमि दौड, ५ किमी दौड सामेल गरिएको छ । ४२ किमि दौडका विजेताले पाँच लाख पुरस्कार पाउनेछन् । दोश्रोले तीन लाख, तेश्रोले दुई लाख र चौथो हुनेले तीस हजार पाउने छन् । म्याराथन ४२ किमि गण्डकी प्रदेश स्तरीय पनि हुनेछ । यसका विजेताले ५० हजार, दोश्रोले ३० हजार र तेश्रो हुनेले २० हजार पाउनेछन् ।

हाफ म्याराथन महिलातर्फ विजेताले १ लाख ५० हजार, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार चौथो हुनेले १५ हजार पाउनेछन् । १०० किमि दृष्टिबिहिन महिला पुरुष दौडमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले रु पाँच हजार पाउनेछन् ।

यस्तै ह्वीलचेयर ४ सय मिटर पुरु, १ सय मिटर महिलातर्फ विजेताले १० हजार, दोश्रोले ७ हजार र तेश्रो हुनेले ५ हजार पाउनेछन् । यस्तै १० किमि महिला दौडमा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रो हुनेले १५ हजार पाउनेछन् । ५ किमि छात्रटात्रा दौडमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले रु ७ हजार पाउनेछन् ।