एक दिवसीयमा नेपालको ऐतिहासिक जित

-



     सफल आवाज    
     फागुन २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पारेको छ । यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यो जितमा नेपालका ओपनर कुशल भुर्तेलले शतकीय योगदान दिए ।

जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ४४ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । आज पूरा गरेको लक्ष्य ओडीआइ इतिहासमै सर्वाधिक हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १५ रन, कप्तान रोहित पौडेलले ७२ तथा सन्दीप जोराले २८ रनको योगदान दिए । यसैगरी ज्ञानेन्द्र मल्लले २५ तथा करन केसीले २० रन जोडे । बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पलमन र जोन निकोल इटनले समान ३-३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल लिजेनले १३३ तथा गर्हार्ड एरास्मसले ५६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १-१ विकेट लिए ।