
काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले स्कटल्यान्डबाट २७५ रनको विजय लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए । टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले नेपालविरुद्ध निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको छ ।
स्कटल्याण्डलाई २७४ को योगफलमा लैजान माइकल लिस्कले १०७ रनको अविजित पारी खेले । यसैगरी ज्याक जार्भिसले २६, क्रिस्टोफर म्याकब्राइड र ब्रान्डेन म्याक्कुलेनले समान २२-२२, मार्क वाटले २० तथा रिचि बेरिङ्टन र टमस म्याकिन्टोसले समान १९-१९ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए । आजको खेलमा नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ ।
नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ । नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो । अब ३ खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग–२ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ ।
नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल ७ टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो ।
स्कटल्यान्डविरुद्ध आज खेल्ने नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




