स्वास्थ्य बीमा बोर्डले ६ महिनामा गर्याे ७ अर्ब दावी भुक्तानी

-



     सफल आवाज    
     फागुन ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ फागुन । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको शुरुवाती ६ महिनामा ७ अर्ब हाराहारी रकम भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष भित्र ५ पटक गरी ६ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ बराबरको दावी रकम बोर्डमा आवद्ध सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो ।

बोर्डको सञ्चालक समितिको गत माघ १८ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दावी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बोर्डले ३३३ वटा सेवा प्रदायक संस्थाहरुलाई हालै पाँचौँ पटक १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

चालु आर्थिक वर्षमा समग्रमा ५ पटक गरी लगभग ७ अर्ब भुक्तानी गरेकामा पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख, दोस्रो पटक ६६ करोड ८१ लाख, तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख, चौथो पटक १ अर्ब १८ करोड ६ लाख र हालै पाँचौ पटक १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ गरी ६ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितहरुको दावी रकम बीमा बोर्ड मार्फत सेवा प्रदायक संस्थाहरुलाई उपलब्ध गराइएको हो ।

हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको यो कार्यक्रम सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु गरिएको हो।