
काठमाडौं, १७ फागुन । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई आज नै क्रिकेट खेल्नका लागि यूएई पठाउने तयारी थालेको छ । लामिछानेेलनई आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको नेपाल, पीएनजी र यूएईबीचको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्न पठाउन लागिएको हो ।
क्यानका कार्यवाहक सचिव दुर्गा पाठकका अनुसार यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखलामा टोलीमा रहेर खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा लामिछानेलाई पठाउने तयारी भइरहेको हो । केही दिनअघि सोही लिगको नेपालमा भएको नामिबिया र स्कटल्याण्ड समावेश सिरिजमा लामिछानेले महत्वपूर्ण १३ रनको योगदान दिएका थिए । उक्त सिरिज नेपालले क्लिन स्वीप गरेको थियो ।
सचिव पाठकले लामिछानेको भिसा पनि आइसकेको र एक जना खेलाडी घाइते पनि भएकोले उनलाई प्रतिस्थापन गर्न माग गरिएको छ । आधिकारिक जानकारी अथवा अनुमोदन आएपछि क्यानले घाइते खेलाडीको नामसहित जानकारी दिने बताएको छ । लामिछाने टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको बुझिएको छ ।