आइसिसी विश्वकप लिग–२: नेपालको राम्रो शुरुवात

-



     सफल आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ फागुन । नेपालका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको १०८ रनको साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट शुरुवात गरेको छ । कीर्तिपुरको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले यतिबेला सम्म भने २७ ओभरमा ३ विकेट गुमाएर १४५ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेखले ४७ औं बलमा करिअरको आठौं अर्धशतक पूरा गरे । उनी अहिले ८० बलमा ८१ रन बनाएर खेलिरहेका छन् । अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ४५ रन बनाउँदै पहिलो विकेटका रुपमा आउट भए ।

त्यसपछि आएका कुशल मल्ल पनि ८ बलमा २ रन बनाएर आउट भए । ज्ञानेन्द्र मल्ल १४ बलमा ११ रन बनाउँदै हेकुरेको बलमा क्याच आउट भए । अहिले शेखलाई क्रिजको अर्को छेउबाट कप्तान रोहित पौडेलले ६ बलमा १ रन बनाएर साथ दिइरहेका छन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेललाई प्लेइङ ११ मा खेलाएको छ । कुशललाई खेलाउँदा नेपालले प्रतिश जिसीलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन ।

विश्वकप लिग–२ को शीर्ष ३ भित्र रहन नेपाललाई जारी शृङ्खलाका ४ वटै खेलमा जित आवश्यक छ । एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई ४ मध्ये २ खेल जित्न जरुरी छ । ७ देश सम्मिलित लिग–२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ । 

पपुवा न्युगिनीलाई जारी शृङ्खलामा जित हारले केही फरक पर्ने देखिदैन । पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । उसले हालसम्म ३२ खेलबाट ९ अङ्क जोडेको छ ।

नेपाल जस्तै युनाइटेड अरब इमिरेट्स ९युएई० का लागि पनि अन्तिम शृङ्खला महत्वपूर्ण छ । उसले हालसम्म खेलेका ३२ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको छैटौँ स्थानमा छ । जारी शृङ्खलाका ४ वटै खेल जिते उसले विश्वकपमा स्थान बनाउने छ । फराकिलो अन्तरले दुई खेल जितेमा युएईले एकदिवसीय मान्यता जोगाउने छ अन्यथा उसले ३ खेल भने जित्नै पर्ने अवस्था छ । नेपालमा आजदेखि सुरु भएको लिग–२ को शृङ्खला अन्तिम हो ।