थपिएनन् कोरोनाका नयाँ सङ्क्रमित, १ जना डिस्चार्ज

-



     सफल आवाज    
     फागुन २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोना सङ्क्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ५१८ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये कसैमा पनि सङ्क्रमण पुष्टि नभएको हो ।

१११ जनाको पीसीआर परीक्षण गरिएकामा शून्य जनामा तथा ४०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पनि शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा देशभरबाट १ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ मा झरेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्मको पछिल्लो २४ घण्टामा देशभरमा ९ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त भएको छ ।

देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ । हालैमात्र मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन सबैलाई आग्रह पनि गरेको छ ।