सिन्धुपाल्चोकका ११ बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

-



     सफल आवाज    
     चैत्र २४ गते २०७९ मा प्रकाशित



सिन्धुपाल्चोक, २४ चैत । सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित दलित बस्तीका ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्याएको थियो। उनीहरुलाई स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट १ सय ७९ परिवार प्रभावित भएका थिए।

‘यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ’, उनले भने। हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ। ५ परिवारले घर निर्माण सम्पन्न गर्दैछन्।

प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रतिपरिवार ५ लाख रूपैयाँ तथा जग्गा नहुनेलाई थप ३ लाख रूपैयाँ दिइनेछ।

‘यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत साझेदारी गर्नुपर्ने छ’, उनले भने। विसं २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी ५५१ घर बगाएको थियो।