
काठमाडौं, ३० भदौ । सहारा क्लव पोखराको २५औं वार्षिकोत्सव तथा १३औं अधिवेशनमा फोटो पत्रकार उमेश पुन पुरस्कृत भएका छन् । उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं १७ दोबिल्लामा रहेको क्लवको सहारा एकेडेमिमा आयोजित समारोहमा पोखरा महानगरपालिका मेयर धनराज आचार्य, साथमा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’, हिमश्री फुड्सका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी, निर्देशक प्रकाश केसी लगायतले पुनलाई सम्मान गरेका हुन् । पुरस्कार राशी २५ हजार ५५५ रुपैयाँ रहेको छ । पुन फोटो पत्रकारितामा सक्रिय रहेका छन् ।
समारोहलाई संवोधन गर्दै प्रमुख अतिथि आचार्यले सहारा क्लव पोखरा बसपार्कबाट जन्मिएर अन्तराष्ट्रिय स्तरमै ब्राण्डिङ भएकोमा खुसि व्यक्त गरे । निरन्तर २५ वर्षसम्म फुटवल संचालन गर्दै आएको र एकेडेमि संचालन गर्दै आउनु आफैंमा गौरब लाग्ने कुरा भएको भन्दै यो सबैको साझा भएको बताए । उनले महानगरको तर्फबाट एकेडेमिको लागि साथ रहने बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद तथा सामाजिक कार्यको लागि क्लव प्रख्यात रहेको बताए । क्लवले २५औं वर्षगाँठको अवसरमा क्लवका सल्लाहकार, संस्थापक तथा सदस्यहरु र उत्कृष्ठ कर्मचारीलाई रजत वर्ष सम्मान गरेको छ । साथै केहिलाई आजिवन सदस्यता प्रदान गरेको छ । यसै अवसरमा एकेडेमिमा आवद्ध शैक्षिक सफलता हाँसिल गरेका विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।
अघिल्लो वर्ष सहारा खेलकुद पत्रकारीता पुरस्कारबाट नारायण शाही सम्मानित भएका थिए । याे पुरस्कारबाट दीपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने पुरस्कृत भइसकेका छन् ।
क्लबले सहारा उत्कृष्ट सदस्यबाट धमेन्द्र बराललाई सम्मान गरेको छ । कार्यक्रममा हिमश्री फुड्सका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीलगायत विभिन्न महानुभावलाई सम्मान गरिएको छ । क्लबले विभिन्न व्यक्तिलाई विधागत सम्मान गरेको छ ।
सम्मानित हुनेमा जयलाल पुन, महेश गुरुङ, गणेशबहादुर भट्टराई, डा. नारायण गौतम, निरञ्जन राजवंशी, रामकृष्ण ज्ञवाली, मुच्छेत्र गुरुङ, रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, दीपक गुरुङ, जगन गुरुङ छन् भने मरणोपरान्त स्व.उगेन लामा र स्व. बिलबहादुर तामाङको तर्फबाट परिवारजनलाई सम्मान गरियो । हिमश्री फुड्सका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी पनि सम्मानित भइन् । प्रेमकुमारी पोखराका वरिष्ठ उद्योगपति, पूर्व सभासद एवं समाजसेवी स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी हुन् । क्लबले मुच्छेत्र गुरुङलाई मानार्थ सदस्य पनि प्रदान गरेको छ । योसहित मानार्थ सदस्य संख्या १२ पुगेका छन् ।
कार्यक्रममा आहा रारा पोखरा गोल्डकपका मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, क्लबका मानार्थ सदस्य जयलाल पुन, सम्मानित व्यक्तित्वतर्फबाट पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, सम्मानित व्यक्तित्व नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबले रजत महोत्सवकाे अवसरमा सहारा रजत जयन्ती स्मारिका पनि प्रकाशन गरेको छ । उक्त स्मारिका महानगर प्रमुख आचार्यले विमोचन गरे ।
क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत तथा महासचिव रामजीप्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।
सो अवसरमा महासचिव अधिकारीले गत वर्षको वार्षिक प्रगति विवरण तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप लिग कम नकाउट स्वरुपमा संचालनका लागि अध्ययन गर्ने, प्रतियोगिताको नाम र ब्रान्डिगको लागि कम्पनी कार्यालयमा दर्ता गर्न पहल गर्ने, सहारा फुटबल एकेडेमीको थप भौतिक पूर्वाधार सहित प्यारापिट निर्माणमा सम्बन्धित निकायमा पहल गर्ने लगायत योजना सुनाए ।
क्लबले चौंथो ब्याचमा थप ३० जना कठिन परिस्थिति तथा विपन्न वर्गका बालक भर्ना गर्ने लक्ष्य अनुरुप हालसम्म ११ जना भर्ना भइसकेको क्लब अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।
पोखरामा २०६१ सालदेखि सहारा एकेडेमी संचालन गर्दै आएको क्लबले हरेक वर्ष पोखरा रंगशालामा फुटबल टुर्नामेन्टलाई निरन्तरता दिएको छ । २०५८ मा क्याराभानदेखि सुरु भएकोमा गत वर्ष २२ औं संस्करणका आहा रारा पोखरा गोल्ड कप भएको थियो । नेपाली फुटबल टिमका पूर्व क्याप्टेन अनिल गुरुङ सहारा एकेडेमीकै उत्पादन हुन् ।
क्लवको १३औं अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिदैछ ।