
म्याग्दी, ३१ भदौ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन् । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा तामाङले ९ होल ३६ पारमा भएको खेलमा एक अण्डर १९ अङ्कका साथ उपाधि जिते।
चार हजार ६४५ मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा भएको प्रतियोगितामा पोखराका गल्फर लिलाजङ्ग गुरुङले १८ अङ्क जोड्दै उपबिजेता बनेकाे रेफ्री भुवन गुरुङले जानकारी दिए। महिलातर्फ पोखराकी जुनी गुरुङ १५ स्कोरसहित बिजयी भइन। गत वर्षकी बिजेता काठमाडौंकी गल्फर सुस्मा सिंह १३ अङ्कका साथ दोस्रो भइन ।
रविन राना ग्रस च्याम्पियन भए । समान अङ्क जोडेका याम राना र पीवी राईलाई ब्याक काउण्टरमा रवीनले हराए । तीनै जनाले ११ अङ्क जोडेकोमा अन्तिम होलमा रविनले २ अङ्क जोडेपछि उपाधिको छिनोफानो भएको थियो । सर्वाधिक बर्डिजको उपाधि आत्मराम सिंखडाले जित्नुभयो भने लङ्गेष्ट ड्राइभ माधव सिंखडाले प्रहार गरे ।
सिनियरतर्फको पुरस्कार भने पोखराका ६१ वर्षका बलराम थापाले प्राप्त गरे। थापाले १६ स्कोर गरे । उनी गतवर्षको उपविजेता थिए। क्लोजेष्ट टु दि पिन मेजर विजय लामाले पाए । होल इन वान कसैले पनि जित्न सकेनन् । होल इन वानका लागि घोडा र ५० कार्टुन स्याउ पुरस्कार राखिएको थियो । कूल २४ पुरुष र ४ महिला गरी २८ गल्फर सहभागी खेल स्टेवल फोर्ड आधारमा खेलाइएको थियो ।
अघिल्लो वर्ष निर्माण गरिएको कोर्सलाई विश्व गिनिज बुकमा रेकर्ड गराउने प्रयास स्वरुप दोस्रो पटक प्रतियोगिता आयोजना गरिएको खेलका संयोजक तथा पूर्वप्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले बताए । “मुस्ताङ गल्फ कोर्स दर्ता गरेर जग्गा प्राप्तीको प्रक्रिया थालिएको छ”, उनले भने “नेपालमा नयाँ पहिचान थप्ने सपना अनुसार काम गरिरहेका छौ ।” सर्वोच्च शिखर सगरमाथा र लुम्बिनीसँगै विश्वले अब सर्वाधिक उचाईमा रहेको गल्फ कोर्स रहेको भूमिका रुपमा पनि नेपाललाई चिनाउने लक्ष्य राखिएको बिष्टले बताए।
प्रतियोगिताका विजयी खेलाडीलाई विष्टसँगै लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्वु गुरुङ, नेपाल गल्फ सङ्घका उपाध्यक्ष पवित्रकुमार कार्की लगायतले सुन र चाँदीले लेपन गरिएको ट्रफी वितरण गरे। गल्फलाई व्यवस्थित सञ्चालन गर्न गल्फ सङ्घका केन्द्रीय सदस्य भुवन गुरुङ सहितको प्राविधिक टोली एक साताअघि नै लोमान्थाङ पुगेको थियो । विश्वकै उच्च स्थानमा दोस्रो पटक प्रतियोगिता सञ्चालन गरेर कीर्तिमान बनाएको आयोजक लोमान्थाङ गाउँपालिकाले दाबी गरेको छ ।
यसअघि भारतको सिक्किममा तीन हजार नौ ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईमा रहेको गल्फ कोर्ष मान्ने गरिएको थियो । लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहाँसम्म पुग्न सडक समेत विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।
गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाइन र ब्याक लाइनको टिबक्सलगायतका संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारी साधनमा लोमान्थाङबाट तीस मिनेटमा पुग्न सकिन्छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




