
कास्की, ३१ भदौ । सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन्। क्लवले फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ ।
मोफसलमै उत्कृष्ट क्लबका रूपमा स्थापित क्लबको शनिबार राति सम्पन्न १३औँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा पुनः रामजीप्रसाद अधिकारी, सचिवमा टङ्कराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर, सहकोषाध्यक्षमा अशोक लालचल चयन भए । सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल रहेका छन् ।
सहारा क्लब फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको छ । क्लबले सहारा एकेडेमी सञ्चालन गरी फुटबल खेलाडी उत्पादन गर्दै आएको छ । एकेडेमी सञ्चालनका लागि क्लबले स्थापना गरेको अक्षयकोषमा हालसम्म रु दुई करोड ८५ लाख पुगेको क्लबले जनाएको छ । अहिले सहारा एकेडेमीमा चौथो समूहका ११ बालकलाई भर्ना गरिएको छ । क्लबले तेस्रो चरणका २८ बालकलाई गत चैतमा बिदाइ गरेको थियो ।
क्लबले बर्सेनि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । आगामी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपलाई ‘लिगकम नकाउट’मा सञ्चालनको तयारी गरिएको महासचिव अधिकारीले बताए।