विश्वकप एसिया छनोट : बहराइन र ओमान विजयी

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो ।

हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाए । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए भने रिजवान बुटृ र अली दाउदले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ४६ रनको योगफल बनाएको थियो ।

उसका लागि इमरान अलीले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६२ रन बनाए । इमरान अनवरले १५, हैदर बुटृले १४ तथा रिजवान बुटृले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङका लागि नस्रुला रानाले तीन विकेट लिए भने एहसान खान, अजिज खान र यासिम मुर्तजाले समान दुई÷ दुई विकेट लिए ।

जितसँगै बहराइनले दुई अङ्क जोडेको छ । हिजो भएको पहिलो खेलमा बहराइन युएईसँग पाँच विकेटले पराजित भएको थियो । हङ्कङको भने यो पहिलो हार हो । हिजो भएको खेलमा हङकङले कुवेतलाई ३१ रनले हराएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ भने बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ ।

विश्वकप एसिया छनोट : ओमानले २२ रनले विजयी

काठमाडौं, १४ कात्तिक । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि एक सय ७५ रनको लक्ष्य दिएको थियो ।

जवाफमा सिङ्गापुर निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो । सिङ्गापुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४१ रनको योगदान दिए । त्यस्तै मनप्रित सिंङले ३१, अरित्रा दत्तले १३ तथा अनिश परामले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेकनन् ।

बलिङतर्फ ओमानका विलाल खान र फयाज बुटृले दुई/दुई विकेट लिए भने शाकिल अहमद, जिशान मकसुद र अकिब इलियासले समान एक÷एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७४ रनको योगफल बनाएको थियो । उसका लागि अकिब इलियासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रनको योगदान दिए ।

त्यस्तै प्रतीक अथवले ४२ जिशान मकसुद २६ तथा कश्याप प्रजापतिले १२ रन जोडे । सिङ्गापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई ÷दुई विकेट झारे । यस जितसँगै ओमानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको थियो । त्यस्तै सिंगापुरको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा सिङ्गापुर आयोजक नेपालसँग आठ विकेटले पराजित भएको थियो ।