‘फिस्टेल रेसिङ कप’ को उपाधि अजय तामाङलाई

-



     सफल आवाज    
     मंसिर १० गते २०८० मा प्रकाशित



पाेखरा, १० मङ्सिर । पोखरा रङ्गशालामा आज सम्पन्न ‘फिस्टेल रेसिङ कप २०२३’ को उपाधि अजयले तामाङले जितेका छन् । तामाङले ३८ जना प्रतियोगिहरूलाई पछि पार्दै उपाधिसहित रु एक लाख, ट्रफी पुरस्कार पाएका हुन ।

फिस्टेल रेसिङ कपअन्तर्गत यही मङ्सिर ८ गतेदेखि मोटरबाइक दौड प्रतिस्पर्धा आयोजना गरिएको हो । नेपाल रेसिङ स्पोर्टस एशोसिएशनको आयोजना तथा भिआर ४६ को समन्वयमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापामगर द्वितीय हुँदै रु ७५ हजार पुरस्कार पाए ।

यसैगरी मोहमद फरहान तृतीय भएर रु २५ हजार पुरस्कार ट्रफी र प्रमाणपत्र पाए। महिलातर्फ पाँच वाइकर्स सहभागी भएकामा वर्षा बस्नेत च्याम्पियन हुँदै रु २० हजार पुरस्कार पाए। प्रतियोगिताका विजेता खेलाडी काठमाडौँका हुन्। नेपाल रेसिङ स्पोर्टस एसोसिएसनले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा बाइकर्सहरुले ‘स्टन्ट’ गर्नुका साथै ‘म्युजिकल शो’ समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो । प्रतियोगिताका विजेतालाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरे।

पोखरा रङ्गशालाभित्रको पिच सडकलाई फिसटेल रेसिङ ट्रयाकको रुपमा घोषणा गरी निरन्तर रुपमा प्रतियोगिताहरु आयोजना गर्ने नेपाल रेसिङ स्पोर्टस एशोसियसनका अध्यक्ष माइकल थापाले प्रतिबद्धता जनाए ।

“पहिलो संस्करण भव्यताका साथ सम्पन्न भयो । यो सुरुआत मात्र हो । पोखरा सहित अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने गरी अगाडि बढ्दैछौँ ।”, थापाले भने।