केपी ओली कप राष्ट्रिय क्रिकेट : उपाधिका लागि मधेस प्रदेश आर्मीसँग भिड्ने

-



     सफल आवाज    
     मंसिर १४ गते २०८० मा प्रकाशित



पाेखरा, १४ मङ्सिर । पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मधेसले ११ रनले एपिएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो ।

मधेसले फाइनलमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मी पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई हराएर फाइनल पुगेको टोली हो ।

जीतका लागि मधेसले दिएको एक सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ८६ रन मात्र बनाउन सफल भयो । जवाफी ब्याटिङमा उत्रिएको एपिएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले अर्थशतक पूरा गरेपनि जीतका लागि प्रयाप्त हुन सकेन । जोरा ५४ रन बनाएर आउट भए भने प्रदीपले ५५ रन बनाए।

लोकेश बमले ३२, भुवन कार्की १३ र सुमित महर्जनले १३ रन बनाए। बलिङतर्फ मधेसका विशाल पटेल तीन, कप्तान हरिशङ्कर शाह र प्रदीप पासवानले समान दुई÷दुई विकेट लिए। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ९७ रनको विशाल योगफल तयार पारेको थियो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धशतक प्रहार गर्नुभयो । शाहले ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० रन बनाए ।

बलिङतर्फ एपिएफका मौसम ढकालले तीन, अमर रौटेलाले दुई र पुरन विकले एक विकेट लिए। प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको थियो । आर्मीले जीतका लागि पाएको एक सय २८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो ।

टस जितेर व्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । बागमतीका प्रतीक श्रेष्ठले ३५ बलमा चार छक्का र तीन चौकाको मद्दतमा अर्थशतकको योगदान दिए पनि टोलीलाई फाइनल पु¥याउन असफल भए । यसैगरी कप्तान सन्दीप लामिछानेले १९, रीत गौतमले १४, इशान पाण्डेले १२ रन बनाए ।

‘प्लेयर अफ दी म्याच’ घोषित आर्मीका सहाव आलमले चार तथा सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए। आर्मीले विजयी लक्ष्य १५ ओभरमा छ विकेट गुमाएर पूरा गर्न सफल भयो । आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रनको योगदान दिए। कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाए । बागमतीका सन्दीप लामिछानेले दुई तथा प्रतीश जिसी, इशान पाण्डे, सोनु देवकोटा र रीत गौतमले समान एक÷एक विकेट लिए ।

सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए। प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो ।