माछापुच्छ्रे गाउँपालिकामा मंसिर २६ गतेदेखि अध्यक्ष कप दोश्रो पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

-



     सफल आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित



पोखरा, २८ मंसिर । माछापुच्छ्रे गाउँपालिका खेलकुल विकास समितिले मंसिर २६ गतेदेखि २८ गतेसम्म दोश्रो माछापुच्छ्रे् गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

गाउँपालिकाले आज पाेखरामा प्रतियोगिता बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा हुने प्रतियोगितामा २५ टोलीको सहभागि हुने जानकारी दिईन् । उनले प्रदेशका ८५ पालिकालाई खबर गरिएको र प्रतियोगिताका लागि २५ टालीको सहभागिता हुने बलियो संभावना रहेको बताईन्।

माछापुच्छ्रे गाउँपालिका रमणीय पर्यटकीय पालिका रहेकोले खेलकुदको माध्यमबाट खेल पर्यटनको विकासमा प्रतियोगिताले टेवा पुर्याउने उनले बताईन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले रुपैयाँ तीन लाख नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोश्रो हुनेले दुई लाख, ट्रफि, मेडल र प्रमाण पत्र तथा सेमिफईनलमा उपविजेता टोलीलाई ५०÷५० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गरिनेछ ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई रुपैयाँ ७ हजार, उत्कृष्ट स्पाईकर, मिडल ब्लकर, डिफेण्डर, सटर, सर्भर र प्रशिक्षकलाई ५÷५ हजारको दरले पुरस्कृत गरिने भएको छ ।

प्रतियोगिता संचालन गर्नका लागि १२ लाख ८३ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुततिहरु रहने भएका छन् ।

प्रतियोगितालाई माछापुच्छ्रे गाउँपालिकाको मुख्य सहयोग, वडा नं ३ को समन्वय तथा माछापुच्छ्रे गाउँपालिकाको व्यवस्थापनमा संचालन हुने भएको छ ।