एसओएस पोखरामा वार्षिक खेलकुद सम्पन्न

-



     सफल आवाज    
     पौष २ गते २०८० मा प्रकाशित



पोखरा, २ पुस । पोखरा १७ घारिपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखराले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद सम्पन्न गरेको छ । वार्षिक तालिका अनुसार विद्यालयले अन्तरसदनात्क र खुल्ला प्रतियोगिताका दुई दर्जन बढी प्रतिस्पर्धा गराएको विद्यालयका खेल शिक्षक थुप्तेन छिरीङले जानकारी दिए ।

कार्यक्रमको औपचारिक समारोहमा बोल्दै तिब्बतीयन कल्याणकारी कार्यालय नेपालका मुख्य प्रतिनिधि छप्री लोपन टुल्कु नवाङ छोडुपले खेलले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग पुग्नेमा जोड दिए । उनले खेलको माध्यमबाट विश्व प्रसिद्ध बन्न सकिने धारणा राखे ।

सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले विद्यालयले विद्यार्थीलाई शैक्षिक र खेलकुदको माध्यमबाट व्यक्तित्व विकाससँगै चरित्र निर्माणमा जोड दिँदै आएको बताए ।

उनले खेलाडी र अनुशासन एउटै सिक्काका दुई पाटा भएको भन्दै अनुशासित विद्यार्थी नै सफलताको शिखरमा पुग्नेमा जोड दिए । विद्यालयका हेड मास्टर तेन्जिन दोर्जेले विद्यार्थी र खेल परिपूरक भएको धारणा राखे ।

कार्यक्रममा विभिन्न खेल प्रतियोगितमा विजयी विद्यार्थीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा निलो सदन प्रथम, हरियो सदन द्वितीय, तृतीय पहेँलो र चौथो स्थानमा रातो सदनले आआफ्नो अङ्क बाँडे ।

सो अवसरमा दौड, रिले दौड, छेलो, हाइ जम्प, लङ जम्प, स्याक रेस, स्किपिङ, अब्स्ट्याकल रेसलगायतका खेलमा अन्तरसदनात्मक र खुल्ला प्रतिस्पर्धामा विद्यार्थीले सहभागिता जनाएका थिए ।

सो अवसरमा प्रत्येक सदनले मार्च पास प्रदर्शन गरेर आफ्नो कलासमेत प्रदर्शन गरेका थिए । सो अवसरमा योगाभ्यासको डेमो प्रदर्शन गरिएको विद्यालयका शिक्षक अमृत घिमिरेले जानकारी दिए ।