आईपीओ निष्कासन गर्न ह्याम्स अस्पतालले दियाे धितोपत्र बोर्डमा आवेदन

-



     सफल आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ पुस । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले आईपीओ निष्कासनकाे लागि धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा ११ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न शुक्रबार नेपाल धितोपत्र बोर्डमा स्वीकृतीको लागि निवेदन दिएको छ ।

अस्पतालले आफ्नो जारी पूँजीको १५ प्रतिशतले हुन आउने कूल ११ करोड २५ लाख रकम बराबरको १०० अङ्कित दरमा प्रिमियम वापत १८८ थप गरी जम्मा प्रति शेयर मूल्य २८८ मा ११,२५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो । यससँगै, ह्याम्स अस्पताल नेपालको पुँजी बजारमा स्वास्थ्य क्षेत्रको पहिलो कम्पनी बन्ने भएको छ ।

२०५४ साल मंसिर २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई संचालित यस अस्पतालले बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, बाट इजाजतपत्र लिई १०० शैयाको जनरल बेड सहितकाे अस्पताल सञ्चालन गर्दैआइरहेको छ ।

अस्पतालले उच्च गुणस्तरीय र किफायती स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले संगठित संस्थाको शतप्रतिशत लगानीमा सहायक कम्पनी ह्याम्स नर्सिङ्ग कलेज २०६५ साल पुस ९ गते देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट स्वीकृतीपत्र प्राप्त गरि ३ वर्षे प्रविणता प्रमाण पत्र नर्सिङ्ग कार्यक्रम संचालन गर्दै आईरहेको छ ।