पोखरामा साढे १८ लाख पुरस्कार राशिको म्याराथन हुने

-



     सफल आवाज    
     पौष १० गते २०८० मा प्रकाशित



पाेखरा, १० पुस । कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ ।

फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो । मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार पुरुषतर्फ ४२ किलोमिटरको खुला म्याराथन आयोजना गरिने छ । सो स्पर्धाका विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड (महिला÷पुरुष), विद्यालयका छात्रछात्रा सहभागी हुने पाँच किलोमिटरको दौड, दृष्टिविहीन तथा ह्वीलचियर दौड आयोजना गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए।

प्रतियोगितामा यस वर्षदेखि ५० वर्षमाथिका महिला÷पुरुषलाई समेत लक्षित गरी दौड समावेश गरिएको छ । सन् २०२० मा आयोजना गरिएको पोखरा म्याराथनमा जापानका धावक तथा सन् २०२२ र सन् २०२३ मा केन्याका धावक विजयी भएका थिए ।

“म्याराथन दौडका लागि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको छ”, मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने । “बजारसँगै ग्रामीण क्षेत्रलाई समेत समेटेर म्याराथन दौडको योजना बनाएका छौँ”, उनले भने।