पोखरा म्याराथनलाई च्यारिटी रकम हस्तान्तरण तथा प्रायोजन सम्झौता

-



     सफल आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित



पोखरा, ३ माघ । नेपाल भुतपुर्व खेलाडी मञ्चलाई च्यारिटी रकम हस्तान्तरण गरिएको छ । मञ्चको कार्यालय पोखरामा पोखरा म्याराथनका लागि रकम हस्तान्तरण तथा छुट्टाछुट्टै प्रायोजन सम्झौता सम्पन्न भएको हाे।

तमु धि युके, डायमण्ड बुद्धिष्ट सेन्टर युकेले च्यारिटी रकम हस्तान्तरण गरेका हुन् भने ब्रिटिश ग्रामर स्कुल पोखरा र टुडेज मिनरल वाटरबिच प्रायोजनको सम्झौता भएको हो । सहयोग अन्तरर्गत च्यारिटी रनबाट  तमु धि युकेले तीन लाख रुपैयाँ प्रदान गरेको छ ।

यस्तै बुद्धिष्ट सेन्टरले भने एक लाख ३५ हजार दुई सय २४ रुपैयाँ प्रदान गरेको हो ।

रकम हस्तान्तरणपश्चात बोल्दै तमुधीं युके आमा समूहकी निवर्तमान महासचिव यशोदा गुरुङले आफुहरुले लन्डनमासमेत च्यारिटी रन गर्दै आइरहेको सुनाइन् । विशेषगरी क्यान्सर पिडितका उपचारका लागि च्यारिटी गर्दै आइरहे उक्त संस्थाले पोखरा म्याराथनमा समेत च्यारिटी रन गर्दै आइरहेको छ ।

क्यान्सर पिडित मञ्जु गुरुङ राइले पोखरा म्याराथनमा आफुहरुले सहकार्यको प्रयासलाई जारी राखिरहेको सुनाइन् । युके संयोजक समेत रहेकी उनले क्यान्सरपछिको जिवन समेत सम्भव छ भन्ने सन्देश दिदैँ च्यारिटी रन गर्दै आइरहेको बताइन् ।

यस्तै ब्रिटिस ग्रामर स्कुलका कार्यकारी निर्देशक महेन्द्र कडेँल, टुडेज मिनरल वाटरका प्रवन्ध निर्देशक कुशल किरण श्रेष्ठ र मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले  छुट्टाछुट्टै सम्झौता गरे । ब्रिटिस ग्रामर स्कुलले आगामी तीन वर्षका लागि तीन लाख रुपैयाँ प्रदान गरेको छ ।

सम्झौता पश्चात बोल्दै कार्यकारी निर्देशक कडेँलले पोखरा म्याराथनसँग जोडिन पाउँदा खुसी लागेको बताए  । उनले पोखरा पर्यटन र खेलकुद सँगै शिक्षाको समेत हब बनाउन सकिने भएकाले संस्थाले पोखरामा नयाँ शैक्षिक संस्थाको सुरुवात गरेको सुनाए । उनका अनुसार पोखरा म्याराथनमा ब्रिटिस ग्रामर स्कुलले शिक्षा मार्फत सामाजिक उत्तरदायित्वलाई बहन गर्नेछ ।

यस्तै टुडेज मिनरल वाटरले भने आगामी पाँच वर्षका लागि अफिसियल पिउने पानीको सौजन्य गर्नेछ । धावकहरुलाई शुद्ध पानी पिलाउने उद्धेश्यले पोखरा म्याराथनसँग जोडिएको प्रवन्ध निर्देशक कुशल किरण श्रेष्ठले बताए । उनले खेलाडीहरु दौडदै गर्दा डिहाइड्रेसनको सिकार हुने र त्यसका लागि पानी अत्यावश्यक रहेकाले पानी प्रायोजन गरेको उनको भनाइ छ ।

डायमण्ड बुद्धिष्ट सेन्टरका अध्यक्ष योगेश गुरुङले आफ्नो भागबाट थोरै निकालेर अरुलाई बाड्नु धर्म रहेको बताए । उनले पोखरा म्याराथनलाई सफला बनाउन धेरै सहयोगि मनहरुको सहयोग रहेको सुनाए । आफुलाई बुबा आमाले सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गराएको र सोही अनुसार सहयोग गरेको उनको भनाई थियो ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथनका कारण संस्थासँग धेरै सहयोगी हातहरुको साथ मिलेको बताए । म्याराथनलाई सफल बनाउन सबै भूमिका उत्तिकै रहेकाले आगामी दिनमा समेत साथ र सहयोग गर्न अनुरोध गरे । उनले पोखरा म्याराथनलाई विश्वकै उत्कृष्ट म्याराथन बनाउन यसरीनै सहयोगहरुको खाचो रहेको समेत बताए । साथै म्याराथनलाई हरेक वर्ष थप व्यवस्थित र प्रतिष्ठित बनाउँदै लैजाने काम भइरहेको समेत बताए ।

मञ्चको आयोजनामा फागुन ५ गते शनिबार पोखरामा १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना हुँदैछ ।