एसिसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु १४४ रनको लक्ष्य

-



     सफल आवाज    
     चैत्र ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० चैत । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाले नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४३ रनको योगफल बनायो ।

मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे ।

मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए । बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।