खेलकुदमन्त्री र विश्व ट्रायथलनको अध्यक्षबीच भेट

-



     सफल आवाज    
     वैशाख १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच आज भेटवार्ता भएको छ ।

आज नेपाल आइपुगेकी कसाडो र मन्त्री श्रेष्ठबीच सिंहरदबारस्थित युवा तथा खेलकूद मन्त्रालयको कार्यकक्षमा भेट भएको हो । भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ट्रायथलनको विकासको लागि हुनसक्ने सहयोग र संभावनाको विषयमा पनि कुराकानी छ । यस्तै अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको प्रचुर सम्भावनाको विषयमा पनि छलफल भएको छ ।

कसाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा रहेकी छन् । उनको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनी १० वर्ष अगाडि नेपाल आएकी थिइन् । उनी शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सो च्याम्पियनसिपमा १५ देशका ६५ भन्दाबढी खेलाडीको सहभागीता रहनेछ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि भोलि नेपाल आइपुग्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।