काठमाडौं, १५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन् । उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिए ।
उनले भने, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो ।”
पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गए राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक जितिन्।
पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनिन्। हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्।
क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गरिन्।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्।