
काठमाडौं, २१ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो ।
लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओभरमा एक विकेट पनि नगुमाएर पूरा गरेको हो । पोखराको जितमा दुवै ओपनरको सानदार प्रदर्शन रह्यो । पोखराका लागि एन्ड्रिज गौसले शतकीय पारी खेले । उनले ५५ बलमा पाँच छक्का र १२ चौका प्रहार गर्दै अविजित एक सय चार रन बनाए ।
एनपिएलमा गौसले अहिलेसम्मकै बढी रन बनाएर एनपिएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । पोखराका अर्का ओपनर दिनेश खरेल अर्धशतकीय पारी खेले । उनले पनि अविजित रहँदै ६१ रन बनाए । छयालिस बलमा चार छक्का र चार चौकाको मद्दतले उनले ६१ रन बनाए । यो खेलमा पोखराले अतिरिक्त ११ रन पाएको छ ।
एनपिएलमा यो पोखराको पहिलो जित हो । पोखरा आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्द शुन्य रनमा आउट भएका थिए ।
यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गरेको थियो । पोखराका लागि विपिन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारेका थिए । एनपिएलमा लुम्बिनीको यो दोस्रो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




