‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं’

-



     सफल आवाज    
     पौष २३ गते २०८१ मा प्रकाशित



पोखरा, २३ पुस । नेपाल भूतपूर्व खेलाडी मञ्चले १९ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०८१ एवं यसका साप्ताहिक/मासिक दौडका कार्यक्रम सार्वजनिक गरेको छ । मञ्चले यसपालिकाे नारा ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं’ तय गरेकाे छ ।

मञ्चले मंगलबार पोखरा पत्रकार सम्मेलन गरेर पोखरालाई दौड संस्कृतिको विकास गरि स्वस्थ्य र मानसिक रुपमा नागरिकलाई सचेतना जगाउन नयाँ योजना सहितका कार्यक्रम सार्वजनिक गरेको जनाएकाे छ ।

पोखरा महानगरपालिकाकाे आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा “स्वच्छ पोखरा, स्वस्थ पोखरेली” को नारालाई आत्मसाथ गर्दै सुरु गरिएको दौड अन्तर्गत पहिलो पटक मासिक दौड पौष २७ गते आयोजना गरिने भएको छ । ३ किमि र ५ किमि छात्र, छात्रा दौड हुने भएको हाे ।

३ किमि छात्र, छात्रा अन्तर्गत गत ८ देखि १२ वर्ष उमेर समूह अर्थात कक्षा ५ सम्म र ५ किमि अन्तर्गत १३ देखि १६ वर्ष उमेर समूह अर्थात कक्षा १० सम्मका बीचमा हुने भएको छ । मञ्चले ३ किमि तर्फ ८ वर्ष उमेरको प्रतियोगितामाल अभिभावकसहित उपस्थित हुनुपर्ने जनाएको छ ।

पौष २७ गते हुने मासिक दौड ५ किमि पोखरा रंगशालाबाट सुरु भएर एसओएस गेट, कृष्ण मन्दिर चोक, इन्द्रमार्ग हुँदै पुनःरंगशालामा गएर सकिने छ । यसका लागि दर्ता खुल्ला गरिएको छ । दौडलाई वप्रविधिमेत्री बनाउन चिप्सको प्रयोग गरिने भएको छ । पहिलो दर्तामा आउने छात्र, छात्रा १०० जनाले चिप्सको प्रयोग गर्न पाउनेछन् । अन्तिम दर्ताको समय पौष २६ गतेसम्म तोकिएको छ ।

३ किमि र ५ किमि दौड यो अभियानको रुपमा अघि बढेकोले नेपाली युवा खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने र दौडमार्फत बालबालिकाको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मञ्चले विश्वास गरेको छ । पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा संचलन हुने दौडलाई निकट भविष्यमा साप्ताहिक पार्क रन दौडको रुपमा आयोजना गरिने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो, पाँचौ हुनेलाई मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ । विश्व परिवेशमा चर्चित शहरको नामा आयोजना गरिने सिटि म्याराथनको अवधारणा अनुसार पर्यटकीय राजधानी पोखरालाई खेलकुदबाट विश्व मानचित्रमा स्थापित गराई खेल पर्यटन प्रवर्धन गर्नका लागि वर्षमा एक दिन प्रतियोगितालाई शहरकै उत्सवको रुपमा मनाई म्याराथन प्रतियोगिता आयोजना हुँदै आएको छ ।

फागुन ३ गते शनिबार १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

फागुनको पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना हुने भएकोले यसपटक फागुन ३ गते शनिबार १९ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०८१ व्यवस्थित बनाउन २८ वटा उपसमितिले काम गरिरहेका छन् । यसपटक म्याराथनमा १४ वटा विधा रहने भएका छन् ।

यसमा खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरिय खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महलिा तथा पुरुष, महिला पुरुष १० किमि दौड, विद्यालय स्तरिय छात्र, छात्रा ५ किमि दौड, महिला पुरुष ह्वील चियर तथा दृष्टिबिहिन दौड, ५० वर्ष माथिकाका लागि ५ किमि भेट्रान्स महिला, पुरुष दौड हुने भएको छ । साथै वर्षका एक दिन दौडिनु पर्छ भन्ने सन्देश दिनका लागि रन फर फन समेत हुने भएको छ ।

पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं

गएका संस्करणहरुमा “पोखराका लागि, स्वास्थ्यका लागि दौडौं, पोखरा रंगशाला निर्माणका लागि दौडौं लगायतका नाराहरुसंगै दौडिने गरिएकोमा यसपटक पोखरामा नियामित रुपमा अन्तराष्ट्रिय हवाई उडानका लागि नारिकमा सचेतना जगाउन दवावको महशुस गरेर पोखरामा नियमित अन्तराष्ट्रिय उडानका लागि दौडौं भनेका छौं, पत्रकार सम्मेलनमा मञ्चका पूर्व अध्यक्ष तेज गुरुङले भने । विमानस्थल संचालनमा आएको दुई वर्ष बितेपनि नियमित अन्तराष्ट्रिय उडान नभईरहेको बेलामा दवावका लागि सो नारा तय गरिएको उनले बताए ।

खुल्ला ४२.१९५ किमि म्याराथनका विजेताले ५ लाख नगद पाउनेछन् । दितियले ३ लाख, तृतियले २ लाख र सान्वना स्वरुप चौथोदेखि ८ जनासम्मले ३० देखि १० हजार नगद पुरस्कार पाउनेछन् । खुल्ला ४२.१९५ म्याराथन गण्डकीतर्फ प्रथम हुनेले ५० हजार दोश्रोले ३० हजार र तेश्रोले २० हजार पाउनेछन् । चौथोदेखि ८ औं सम्मकाले १५ हजारदेखि ४ हजार नगद पाउनेछन् ।
महिलातर्फ हाफ म्याराथन, १० किमि पुरुष, महिला, ५ किमि छात्रा, छात्रा, ह्वीलचियर तथा दृष्टिबिहिन पुरस्कार राशीमा बृद्धि गरिएको छ ।

प्रतियोगिताका लागि कुल २१ लाख ३४ हजार खर्च हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार १९ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनका लागि कुल १ करोड ८९ हजार खर्च हुने अनुमान गरिएको छ ।

नेपालमा आयोजना हुने म्याराथनहरुमध्ये पोखरा अन्तराष्ट्रिय म्याराथनलाई म्याराथनहरुको अन्तराष्ट्रिय छाता संस्था एम्सले मान्यता दिएको र दर्ता भएको निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । पोखराको म्याराथन रुट एम्सबाट प्रमाणिकरण भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रतियोगिताको संरक्षकत्व प्रदान गरेका छन् ।

थप जानकारी यहाँ राखिएकाे छ ।