आहा ! रारा पोखरा गोल्डकप सुरू, पुलिसद्वारा आयाेजक सहारा पराजित

-



     सफल आवाज    
     माघ २२ गते २०८१ मा प्रकाशित



पोखरा, २२ माघ । आहा ! रारा पोखरा गोल्डकपकाे २४ औं संस्करणको पहिलाे खेलबाटै मंगलबार आयोजक सहारा क्लब खेलबाट बाहिरीएकाे छ ।

पोखरा रंगशालामा सुरू प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव नेपाल पुलिस क्लबसंग १–० गोलले पराजित भएकाे हाे ।

खेलको पहिलो हाफको ३६ औं मिनेटमा पाएको कर्नर किकलाई उज्वल राईले गोल गरे । सोही गोल नै नेपाल पुलिसका लागि जितका लागि पक्का भयाे । राई नै खेलको म्यान अफ दि म्याच पनि भए ।

तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजक टोलीले पटक पटक पाएका अवसरहरू गाेलमा परिणत हुन सकेनन् । बुधबार दोस्रो प्रिक्वाटर खेल मछिन्द्र क्लब र एपिएफ क्लबकाबीच हुनेछ ।

प्रतियोगिताको पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए ।

उनले आहा ! रारा गोल्डकपले अन्तर्राष्ट्रिय मानक बनाएकाे बताउँदै पर्यटनको राजधानी पाेखरालाई खेलकुदको माध्यमले चिनाउन ठूलाे भूमिका निभाएकाे बताए ।

सहारा क्लबका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिमश्री फुड्सका प्रकाश केसीलगायतले बाेलेका थिए ।

समाराेहमा राष्ट्रिय खेलाडी सनिष श्रेष्ठलाई नगद ५० हजार ५ सय सहित सम्मान गरिएको थियो । उक्त रकम पूर्व राष्ट्रिय खेलाडी तथा सहाराका मानार्थ सदस्य खेम बहादुर गुरूङले प्रायोजन गरेका हुन्। 

उद्घाटन सामराेहमा यूकेको आर्मी व्रिगेड टोलीले ब्यान्डको प्रस्तुती प्रस्तुत गरेकाे थियो ।