तेल मूल्य घट्दा अमेरिकी शेयर बजारमा सुधार

-



     सफल आवाज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित



न्युयोर्क, २४ वैशाख । मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीहरूको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव ३४ अङ्कले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ ।

त्यस्तै, व्यापक बजार सूचक १०५ दशमलव ९० अंकले बढेर ७ हजार ३६५ दशमलव १२ बिन्दुमा बन्द भयो भने प्रविधि केन्द्रित शेयर सूचक ५१२ दशमलव ८१ अंकले उकालो लाग्दै २५ हजार ८३८ दशमलव ९४ बिन्दुमा पुगेको छ । ११ प्रमुख क्षेत्रमध्ये ९ वटा क्षेत्रमा वृद्धि देखिएको थियो ।

औद्योगिक र प्रविधि क्षेत्र सबैभन्दा धेरै लाभमा रहेको छ । औद्योगिक क्षेत्र २ दशमलव ६० प्रतिशत र प्रविधि क्षेत्र २ दशमलव ५६ प्रतिशतले बढ्यो । ऊर्जा र सार्वजनिक सेवा क्षेत्र भने क्रमशः ४ दशमलव ०७ प्रतिशत र १ दशमलव ४५ प्रतिशतले घटेका छन् ।

अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्न समझदारीतर्फ प्रगति भइरहेको समाचार सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । यसले तेलको मूल्य घटाएको छ भने लगानीकर्ताको विश्वास पनि बढाएको छ ।