
बेइजिङ, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ । ट्रम्पले सीसँगको सम्बन्धलाई ‘सम्मानको विषय’ भनेर प्रस्तुत गर्न खोजिरहँदा सीले भने विश्वका दुई शक्तिशाली राष्ट्रबीच सम्भावित टकरावको जोखिमबारे चेतावनी दिनुभएको छ ।
“तपाईं एक महान नेता हुनुहुन्छ । कहिलेकाहीँ मानिसहरूले मैले यस्तो भनेको मन पराउँदैनन्, तर म सत्य कुरा नै भन्छु”, ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक भेटअघि ट्रम्पले सीको खुलेर प्रशंसा गर्दै भन्नुभयो, “तपाईंसँग हुनु सम्मानको कुरा हो । तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो ।” ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभयो । तर सीको सन्देश भने बढी सतर्क र रणनीतिक थियो ।
उहाँले विश्व समुदायले अमेरिका र चीन ‘थुसिडाइड्स ट्र्याप’ बाट जोगिन सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको बताउनुभयो । विदेश नीति अध्ययनमा प्रयोग हुने उक्त अवधारणाले उदाउँदो शक्ति र स्थापित शक्तिबीच प्रतिस्पर्धा अन्ततः युद्धमा परिणत हुनसक्ने खतरा औँल्याउँछ । सीले भन्नुभयो, “सहकार्यले दुवै पक्षलाई फाइदा पुर्याउँछ, जबकि द्वन्द्वले दुवैलाई हानि पुर्याउँछ । दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ ।
साझा समृद्धिका लागि सहकार्य गर्दै नयाँ युगअनुसार प्रमुख राष्ट्रबीच सम्बन्धको सही बाटो तय गर्नुपर्छ ।” सीले यसअघि पनि सन् २०१४ देखि विभिन्न अवसरमा यही अवधारणा उठाउँदै आउनुभएको थियो । उहाँले ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनसँगका भेटवार्तामा समेत यो विषय दोहोर्याउनुभएको थियो । तर ट्रम्पले भ्रमणलाई सकारात्मक र मैत्रीपूर्ण बनाउने प्रयास गरिरहँदा सीले फेरि यही चेतावनी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




